चैत्र १, सोलुखुम्बु । राजेन्द्र बस्नेतले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका बस्नेतले निर्वाचनमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको हो।
बस्नेतका अनुसार फागुन २९ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोग द्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार निर्वाचन खर्च विवरण पेश गरिएको हो। उहाँले सार्वजनिक गर्नुभएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा कुल ८ लाख ५८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। खर्च विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली सम्बन्धी कार्यमा ३ हजार रुपैयाँ, पम्प्लेट छपाइमा ६० हजार रुपैयाँ, घरदैलो कार्यक्रमका लागि २ लाख ३० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यसैगरी गाडी भाडातर्फ ३ लाख रुपैयाँ, इन्धन खर्च ५५ हजार रुपैयाँ, मतपत्र तथा ब्यानर छपाइमा ५० हजार रुपैयाँ, रेडियो तथा अनलाइन प्रचारप्रसारमा ५० हजार रुपैयाँ र बुथ व्यवस्थापनमा १ लाख रुपैयाँ खर्च भएको बस्नेतले पेश गर्नुभएको विवरणमा उल्लेख छ। निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ।










Discussion about this post