कात्तिक ११, साेलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ र नेचासल्यान गाउँपालिका–२, खाल्पाको सीमाक्षेत्रमा पर्ने गुप्तेश्वर महादेव भीरमा ठूलो ढुङ्गा खसेर अवरुद्ध भएको सडक बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
मङ्गलबार बिहान भीरबाट ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा सवारीसाधनको आवतजावतमा कठिनाइ भएको थियो। उक्त सडक सोलुदुधकुण्ड नगरपालिकालाई नेचासल्यान गाउँपालिकासँग जोड्ने प्रमुख सडक खण्ड भएकाले अवरोधका कारण स्थानीयवासी तथा यात्रु प्रभावित भएका थिए।
सोलुदुधकुण्ड नगरपालिका–११ का वडाध्यक्ष टङ्क कार्कीको पहल, सडक डिभिजन कार्यालय हर्कपुरको प्राविधिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा बुधबार बिहान अवरोध हटाएर सडक सञ्चालनमा ल्याइएको स्थानीय थिर बहादुर राईले जानकारी दिनुभयाे ।
गुप्तेश्वर महादेव भीर क्षेत्रमा सुक्खा पहिरो जाने र ठूला ढुङ्गा खस्ने समस्या समय–समयमा दोहोरिने गरेको छ। सडक आसपास बस्ती नभएका कारण यस खण्डको मर्मतसम्भार तथा स्तरोन्नतिमा पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको भनाइ छ।
तिङ्ला वरडाँडादेखि खाल्पा जोड्ने सडक खण्डमा सामान्य मर्मतले मात्र दीर्घकालीन समाधान नदिने देखिएकाले जोखिमयुक्त स्थानमा आवश्यक संरचना निर्माण गरी सडक ढलान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। भीरबाट ढुङ्गा खस्ने जोखिम न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने देखिन्छ।
हाल सडक सञ्चालनमा आए पनि उक्त भीर क्षेत्रमा जुनसुकै बेला ढुङ्गा खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा सवारीचालकलाई सतर्कता अपनाउन आवश्यक छ।











Discussion about this post