माघ २६, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् । आलुखेतीका लागि १५ हजारमा जग्गा भाडामा लिइएकोमिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले बताउनुभयो ।
सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएको अध्यक्ष राईको भनाई छ । हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको र एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो ।
आलुखेतीमा प्रतिट्र्याक्टर ६ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ । गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । पहिलो चरणमा सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ ।
Discussion about this post