पौष ३, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाअन्तर्गत बाक्सिला बजारमा संयुक्त रूपमा बजार अनुगमन गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, केपिलासगढी गाउँपालिका तथा इलाका प्रहरी कार्यालयको समन्वयमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीले बाक्सिला बजारका खाद्य सामग्रीका थोक तथा खुद्रा पसलहरू निरीक्षण गर्दा म्याद गुज्रिएका तथा अनधिकृत रूपमा बिक्री–वितरण भइरहेका विभिन्न खाद्य सामग्री फेला पारेको थियो। ती अखाद्य वस्तुहरू जफत गरी नियमानुसार नष्ट गरिएको छ ।
केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौ धन राईका अनुसार जफत गरिएका सामग्रीमा १७ हजार ७ सय रुपैयाँ बराबरको खैनी, ३ हजार २ सय रुपैयाँ बराबरको बिस्कुट, २ हजार १ सय ७० रुपैयाँ बराबरको मसला, ५ सय ९० रुपैयाँ बराबरको कुरमुरे तथा ७ हजार २ सय रुपैयाँ बराबरको चकलेट रहेका छन्।
कुल ३१ हजार ८० रुपैयाँ बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको हो । अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यलाई असर गर्ने कुनै पनि सामग्री बिक्री नगर्न व्यवसायीहरूलाई चेतावनी दिँदै आगामी दिनमा समेत नियमित बजार अनुगमन गरिने जनाएको छ ।











Discussion about this post