पौष ३, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–रूपाटारमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीका लागि कार्यदल गठन गरिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको समन्वय तथा एन्भी नेपालको प्राविधिक सहयोगमा गाउँपालिकामा बसेको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको अध्यक्षतामा बसेको बैठकबाट गाउँपालिका उपाध्यक्ष धनमाया मगरको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलका सदस्यहरूमा वडा नं. ५ का वडाध्यक्ष विष्णु कुमास श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष उमेश कुमार मगर, सूचना प्रविधि अधिकृत कञ्चन दाहाल रहेका छन् भने वास फोकल पर्सन रुकेश बिष्ट सदस्य–सचिव रहेका छन् । नेपाल खुल्ला दिशामुक्त घोषणा भइसकेको अवस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छतालाई दिगो बनाउन यस योजनालाई अघि सारिएको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले जनाएको छ । स्थानीय तहमा योजना प्रक्रियालाई सहज र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको बताइएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । समितिका सदस्यहरूमा वडा नं. ३ का वडाध्यक्ष रंगमान तामाङ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराई रहेका छन् । स्थानीय तहमा गठित कार्यदलले प्राविधिक तथा सामाजिक गणक छनोट गरी प्रारम्भिक कार्य सुरु गर्नेछ । गणक तथा प्राविधिकमार्फत स्थानीय तहको जनसंख्या, भूगोल, जोखिम स्तर, सेवामा पहुँचलगायत सामाजिक लेखाङ्कनसम्बन्धी विवरण संकलन गरिने जनाइएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता योजना सम्बन्धी प्राविधिक सहयोग प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशका प्राविधिक स्रोत व्यक्ति केदार खतिवडाले प्रदान गर्ने बताइएको छ ।











Discussion about this post