पौष ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा करिब ४ करोड २० लाख लागतको प्रशासनिक भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ । बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले भवनको शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख शेर्पाले सोलुखुम्बु बहुमुखी क्याम्पस जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण केन्द्रको रूपमा स्थापित हुँदै आएको उल्लेख गर्नुभयो । “शिक्षा नै समृद्ध समाज र राष्ट्र निर्माणको आधार हो,” उहाँले भन्नुभयो, “त्यसैले स्थानीय तहबाट शिक्षामा लगानीलाई उच्च प्राथमिकतामा राखिएको छ ।”
नगरप्रमुख शेर्पाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै क्याम्पस प्रमुख शर्माका अनुसार प्रशासनिक भवन निर्माणका लागि २०८२ साल असोज २३ गते सम्झौता सम्पन्न भएको थियो भने असोज २६ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो ।
उक्त आयोजना २०८३ साल पौष ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणको कुल सम्झौता रकम भ्याटसहित ४ करोड १९ लाख ८२ हजार १५० रुपैयाँ ९५ पैसा रहेको छ, जसको सम्पूर्ण बजेट सोलुदुधकुण्ड नगरपालिकाको अनुदानबाट विनियोजन गरिएको बताउनुभयो ।
साथै उहाँले योग्य र प्रेरित शिक्षक, कर्मचारी तथा विद्यार्थीमैत्री पूर्वाधार बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै क्याम्पसको दीर्घकालीन विकासका लागि भौतिक संरचनामा लगानी अपरिहार्य रहेको धारणा राख्नुभयो । शिलान्यास कार्यक्रममा नगर प्रवक्त फुर्वा ग्याल्जेन शेर्पा, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला, क्याम्पसका शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी लगायत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।











Discussion about this post