पुस ४, साेलुखुम्बु । साेलुखुम्बुकाे लिखु पिके गाउँपालिका वडा नं. २ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य प्रभावकारी रूपमा सम्पन्न भएको छ। वडा कार्यालयमार्फत तथा जिल्ला प्रशासन कार्यालय सल्लेरीमा आवेदन दिएका नागरिकलाई लक्षित गरी पुस २ गतेदेखि ४ गतेसम्म सेवा प्रदान गरिएको हो।
यस अवधिमा जम्मा ४५० जना सेवाग्राहीले राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गरेका वडा अध्यक्ष मणिराज बस्नेतले जानकारी दिनुभयाे ।

सेवा वडा कार्यालय बुङदेल र मैलीबाट वितरण गरिएको थियो भने अपाङ्गता भएका, अशक्त तथा हिँडडुल गर्न असमर्थ नागरिकका लागि घरमै पुगेर सेवा प्रदान गरिएको थियो।
सेवाग्राहीको सहजता र सम्मानलाई प्राथमिकतामा राख्दै गरिएको यो पहल स्थानीय सरकारको जिम्मेवार र जनमैत्री अभ्यासको उदाहरण बनेको छ।
वडा अध्यक्ष बस्नेतका अनुसार
“नागरिक सेवा कार्यालयमा आएर मात्रै लिनुपर्छ भन्ने सोचलाई तोड्दै, सेवाको आवश्यकता भएका नागरिककहाँ हामी आफैँ पुग्यौँ। अपाङ्ग, अशक्त र वृद्ध आमाबुबालाई घरमै सेवा दिन पाउँदा जनप्रतिनिधिका रूपमा गर्व महसुस भएको छ। आगामी दिनमा पनि जनताको ढोका–ढोकामा सेवा पुर्याउने हाम्रो प्रतिबद्धता रहनेछ।”
स्थानीयवासीले वडा कार्यालयको सक्रियता र सेवा भावको खुलेर प्रशंसा गरेका छन्। जनताको विश्वास जित्ने, सेवामैत्री र उत्तरदायी स्थानीय सरकारको अभ्यासका रूपमा यो कार्यलाई उदाहरणीय मानिएको छ।














Discussion about this post