पौष ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा सञ्चालित संवाद केन्द्रले किशोरकिशोरीमा सकारात्मक परिवर्तन ल्याएको पाइएको छ । संवाद केन्द्र सञ्चालनमा आएपछि किशोरकिशोरीहरू जनप्रतिनिधि तथा सरोकारवालासँग आफ्ना समस्या र विचार खुलेर राख्न सक्ने भएको बताएका छन् ।
आइतबार साहस नेपाल सोलुखुम्बुको आयोजनामा आयोजित संवाद कार्यक्रममा किशोरीहरूले आत्मविश्वास बढेको र खुलेर बोल्न सक्ने क्षमता विकास भएको अनुभव सुनाएका थिए । उनीहरूले अहिलेका किशोरकिशोरी नै भविष्यका कर्णधार भएकाले देशमै केही गर्ने अठोट लिएको समेत बताएका छन् ।
कार्यक्रममा सहभागी अभिभावकहरूले आफू किशोरकिशोरी हुँदा यस्ता अवसर नपाए पनि आफ्ना बालबालिकालाई खुलेर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले आफू पनि यही उमेर पार गर्दै आएको उल्लेख गर्दै संवाद केन्द्र कार्यक्रमले किशोरकिशोरीलाई ठूलो मद्दत पुग्ने बताउनुभयो ।
उहाँले साहस नेपालको कामको खुलेर प्रशंसा गर्नुभयो । नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले कार्यक्रमको प्रशंसा गर्दै आफ्नो वडामा समेत यस्ता कार्यक्रम आवश्यक रहेको औँल्याउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले किशोरकिशोरीलाई आफ्नै देशमा काम गरेर भविष्य बनाउन सल्लाह दिँदै अभिभावकहरूलाई अनावश्यक दबाब नदिन आग्रह गर्नुभयो ।
वडा नम्बर ११ का वडा अध्यक्ष टंक बहादुर कार्कीले किशोरकिशोरीको उज्ज्वल भविष्यका लागि वडा सधैँ कटिबद्ध रहने बताउनुभयो । गैरसरकारी संस्था महासंघ सोलुखुम्बुका अध्यक्ष दीपक राजभण्डारीले संवाद कार्यक्रममा किशोरहरूको सहभागिता न्यून रहेको भन्दै आगामी दिनमा समावेशी सहभागितामा ध्यान दिन आग्रह गर्नुभयो ।
साहस नेपालअन्तर्गत सञ्चालन भइरहेको परियोजनाका प्रमुख चुडामणि पहाडीले उक्त परियोजनाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्की, नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुंगाना, साहस नेपालका प्रतिनिधि, वडाका किशोरी, अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।












Discussion about this post