पौष ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइएको छ । सोमबार “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा आप्रवासी स्रोत केन्द्र सोलुखुम्बुको आयोजनामा अन्तरक्रियात्मक तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता सलिना लामिछानेले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै जिल्लामा सफल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू युवाहरूका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।
उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले परिश्रम गर्न सक्ने हो भने नेपालमै पनि प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर सोलुखुम्बुमा व्यवसाय गर्दै आएका चार जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामकुमार श्रेष्ठ, दिपेश श्रेष्ठ, रूपसिं तामाङ र रविन तामाङ रहेका छन् । अन्तरक्रियात्मक कार्यक्रममा उनीहरूले विदेशमा भोगेका दुःख, संघर्ष र अनुभवहरू खुला रूपमा साझा गरेका थिए ।
आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सोलु मार्फत वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई गन्तव्य मुलुकको भाषा, आवश्यक सीप तथा तालिमसम्बन्धी जानकारी प्रदान गरिँदै आएको परामर्शकर्ता लामिछानेले बताउनुभयो । साथै, वैदेशिक रोजगारीसम्बन्धी अन्योलमा परेका नागरिकलाई प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ । आप्रवासी स्रोत केन्द्रले विदेशमा अलपत्र परेका तथा विदेशमै मृत्यु भएका व्यक्तिहरूलाई नेपाल ल्याउन सहयोग गरिरहेको छ ।










Discussion about this post