फागुन १८, सोलुखुम्बु । सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व सोमबार जिल्लाभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईका अनुसार यस वर्ष होली पर्व विगतका वर्षहरूको तुलनामा थप व्यवस्थित र मर्यादित रूपमा मनाइएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश दिने यो पर्व सदरमुकाम सल्लेरीसहित जिल्लाका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको थियो । स्थानीयवासीले एक–आपसमा रङ लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए । केही वर्ष अघिसम्म उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियता, जनचेतना र समुदायको सहकार्यका कारण सभ्य बन्दै गएको छ ।
सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई इच्छा विपरीत रङ तथा लोला हान्ने जस्ता गतिविधिमा कमी आएको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक शान्ति सुरक्षा कायम राख्न विभिन्न स्थानमा गस्ती परिचालन गर्नुका साथै सचेतनामूलक सन्देशसमेत प्रवाह गरेको थियो । सर्वसाधारणले पनि जिम्मेवार ढंगले पर्व मनाएकाले यस वर्ष होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।











Discussion about this post