फागुन १८, सोलुखुम्बु । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको प्रचारप्रसार अवधि सकिनै लाग्दा सोमबार सोलुखुम्बुका एक मात्र निर्वाचन क्षेत्रमा चुनावी गतिविधि व्यापक रूपमा बढेका छन् ।उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो अभियानमा सक्रिय रहेका राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवारहरू अन्तिम दिन भने विभिन्न स्थानमा आयोजित र्याली, कोणसभा र आमसभामा केन्द्रित भएका छन् ।
आ–आफ्ना प्रतिबद्धतापत्र, पोस्टर, पम्प्लेट, झन्डा र ब्यानरसहित घरदैलो अभियान सकेर आमसभामा जुटेसँगै आममतदातामा चुनावी माहोल एकाएक चुलिएको छ । दलहरूले तयार पारेका चुनावी नारा र गीतले चोक, बजार र गाउँबस्ती गुञ्जायमान बनेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका दल तथा उम्मेदवारहरूले पार्टीभित्रको आन्तरिक समीकरण मिलाउने, मतदाता रिझाउने तथा विकास निर्माणका एजेन्डा प्रस्तुत गर्दै मत माग्ने अभियानलाई तीव्रता दिएका छन् । सदरमुकाम सल्लेरी लगायत जिल्लाका मुख्य बजार क्षेत्रमा अन्तिम दिन विशेष चहलपहल देखिएको छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश सिंह कार्की, नेकपा एमालेकी कल्पना राई, नेपाली कम्युनिस्ट पार्टीका असिम राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन राई र श्रम संस्कृति पार्टीका बियस राई चुनावी मैदानमा छन् । त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट लाक्पा शेर्पा, आमजनता पार्टीबाट गुणराज एफ भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगर, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, उज्यालो नेपाल पार्टीबाट पेम्बाछिरी शेर्पा, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट मनकुमार गुरुङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् ।
आउँदो बिहीबार हुन लागेको मतदानका लागि आज प्रचारप्रसारको अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले देशभर राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू अन्तिम चरणको प्रचारमा व्यस्त छन् । निर्वाचन आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघि मौन अवधि सुरु हुन्छ ।










Discussion about this post