फागुन १९, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा यसपटकको निर्वाचनले फरक सन्देश दिएको छ । प्रायः पुरुष कर्मचारीको वर्चस्व देखिने मतदान व्यवस्थापनमा यहाँका दुई मतदान केन्द्र पूर्ण रूपमा महिला कर्मचारीले सञ्चालन गर्ने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जन जागृति माध्यमिक विद्यालय र जन जागृति आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई सुम्पेर समावेशी नेतृत्वको अभ्यास अघि सारेको हो । जन जागृति माध्यमिक विद्यालय मतदान केन्द्रमा सुजता उप्रेती मतदान अधिकृत र नविना श्रेष्ठ सहायक मतदान अधिकृतका रूपमा खटिएका छन् ।
उनीहरूसँगै जमुना खत्री, जुनामाया तामाङ र रिता देवी दाहाल सहायक कर्मचारीका रूपमा सक्रिय छन् । त्यसैगरी, जन जागृति आधारभूत विद्यालय मतदान केन्द्रमा इन्दु बस्याल भण्डारी मतदान अधिकृत तथा बिरमा कुमारी खड्का डाँगी सहायक मतदान अधिकृतको भूमिकामा छन् । दिक्षा तिवारी, उषा रिजाल र बुलबुल पौडेलले सहायक कर्मचारीका रूपमा जिम्मेवारी सम्हालेका छन् ।
निर्वाचन व्यवस्थापनमा महिलाको पूर्ण सहभागिता केवल संख्यात्मक उपस्थितिमा सीमित नभई नेतृत्व तहमा समेत देखिनु स्थानीय तहका लागि सकारात्मक संकेत मानिएको छ । जिल्लाभर १२४ मतदान स्थल र १३९ मतदान केन्द्र तोकिएका छन्, जहाँ ८५ हजार ५१५ मतदाताले मताधिकार प्रयोग गर्ने तयारीमा छन् । निर्वाचनलाई निष्पक्ष, मर्यादित र सुरक्षित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।











Discussion about this post