मंसिर ५, सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसलाई १ करोड ६० लाख रुपैयाँ बराबरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सामग्री प्रदान गरिएको छ । स्नातक तहमा सूचना प्रविधि विषयको अध्यापन (बीआईसीटीई) सुरु गर्ने उद्देश्यसहित सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसलाई उक्त सामग्री उपलब्ध गराइएको हो ।
माथिल्लो सगरमाथाका तीन जिल्लामध्ये बीआईसीटीई कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पस पहिलो क्याम्पस बनेको छ । नगरपालिकाको सहयोगमा खरिद गरिएका स्मार्ट बोर्ड, डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, बुलेट क्यामेरा, अनलाइन यूपीएसलगायत २२ प्रकारका सामग्री नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बिहीबार एक कार्यक्रमबीच क्याम्पस प्रमुख उद्धवकुमार शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
क्याम्पसको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने, डिजिटल शिक्षण प्रणालीको विकास गर्ने तथा विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले सूचना प्रविधिका सामग्रीलाई प्राथमिकतामा राखिएको क्याम्पसले जनाएको छ । प्राप्त सामग्रीको उपयोग गर्दै क्याम्पसले बीआईसीटीई कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढाएको छ ।
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख शेर्पाले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले गरेको लगानीलाई अन्य कुनै पनि क्षेत्रको लगानीभन्दा कम महत्त्वको रूपमा नलिन आग्रह गर्नुभयो । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु सरकार, शैक्षिक संस्था र समुदाय सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले क्याम्पसमार्फत नगरपालिकाको प्रविधिमैत्री शिक्षाको लक्ष्य साकार पार्न खोजिएको बताउनुभयो ।
त्यस्तै, नगर उपप्रमुख गान्धीमाया तामाङले आजको समाज सूचना र प्रविधिमा आधारित भएकाले विद्यार्थीले यसको सही सदुपयोग गर्दै अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख उद्धवकुमार शर्माले स्थानीय सरकारको सहयोगबाट प्राप्त उपलब्धिलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै नगरपालिकाप्रति आभार प्रकट गर्नुभयो । क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै उहाँले विद्यार्थी र अभिभावकले पनि शिक्षाको महत्त्व बुझेर अध्ययन तथा अध्यापनका लागि उपयुक्त वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
ठूला सहरमा गएर लाखौँ रुपैयाँ खर्च गरी प्राप्त गर्नुपर्ने शिक्षा अब सोलुखुम्बुजस्तो सुन्दर र शान्त ठाउँमै उपलब्ध गराउने प्रयास भइरहेको उहाँको भनाइ थियो । यसबाट सोलुखुम्बुसहित माथिल्लो सगरमाथाका तीन जिल्लाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा शैक्षिक क्षेत्रका सरोकारवाला, क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।










Discussion about this post