सोलुखुम्बु, बैशाख १० । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका भएको छ । गाउँपालिका भित्रका खोप लगाउनुपर्ने उमेर समुहका सबै ८ सय ५२ जना बालबालिकाले खोप लगाइसकेपछि आज गाउँपालिकामा बसेको कार्यपालिका बैठकले खोप सुनिश्चित पालिका भएको निर्णय गरेको हो ।
९ वटा वडा रहेको गाउँपालिकामा बालबालिकालाई खोप लगाउने कार्य फाल्गुनबाट सुरु गरिएको थियो । सबै वडामा सबै बालबालिकाले खोप पाइसकेको निश्चित भएपछि आज कार्यपालिका बैठकबाटै गाउँपालिका अध्यक्ष असिम राईले सबै वडाहरूलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र वितरण गरेपछि खोप सुनिश्चित पालिका भएको निर्णय गरिएको गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चित पालिका भएको गाउँपालिकाको वडा नम्बर १ नेलेमा ७५ जना बालबालिकाले खोप लगाएका छन । यस्तै वडा नम्बर २ काँगेलमा ८० जना, वडा नम्बर ३ पन्चनमा ८२ जना, वडा नम्बर ४ जुबु मा ५५ जना, वडा नम्बर ५ जुबु ५५ जना, वडा नम्बर ६ मुक्ली ९६ जना, वडा नम्बर ७ देउसा १ सय १० जना, वडा नम्बर ८ देउसामा ८० जना र वडा नम्बर ९ लोखीममा २०८ जना बालबालिकाले खोप लगाएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
Discussion about this post