साउन २३, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ५ दुबेकोलमा सञ्चालित सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सुरु भएको दुबेकोल सोलार सिँचाइ आयोजनाको काम ९६ प्रतिशत सकिएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ को पिप्लेबाट पानी लिफ्टीङ गरि सोही वडाको १ हजार ५ सय मिटर माथि भदौरै गाउँमा पु्र्याइएको हो । केही दिन अघि गरिएको परीक्षणमा पानी सफलता पुर्वक झरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिनुभयो । खाँडो रिभर म्यानेजमेन्ट प्रोजेक्ट राजविराजको कुल २ करोड ७६ लाखमा सम्झैता भएको उक्त सिँचाई आयोजनाको काम गत असोज मै सक्नु पर्ने भएपनि निर्माण कम्पनीले झण्डै एक वर्ष ढिला गरि काम सम्पन्न गरेको छ ।
निर्माणको जिम्मा पाएको रौता भिमेश्वर एनआरके जेभिले २०७८ पौष १३ गते आयोजनाको सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले गत २०८० असोज २३ गते भित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर मेसिनरी काम भएकाले प्रविधिमा समस्या आउँदा काम सम्पन्नमा ढिलाई भएको निर्माण कम्पनीका साइड सव इन्जिनियर शम्भु तामाङले बताउनुभयो । यद्यपि यही भदौ महिना भित्र बाँकी ४ प्रतिशत काम सम्पन्न गरि खाँडोलाई योजना हस्तान्तरण गरिने उहाँको भनाई छ ।
यो योजनाबाट दुबेकोलका ६० घर परिवार नागरिकको करिव ३ सय हेक्टर खेतियोग्य जमिनमा सिँचाइ सुविधा बाह्रै महिना पुग्ने रावाबेसी गाउँपालिकाका अध्यक्ष फट्टीक श्रेष्ठको भनाई छ । सौर्य ऊर्जाबाट चल्ने लिफ्टीङ आयोजना भएकाले अन्य लिफ्टीङ आयोजनाको तुलनामा निकै प्रभावकारी हुने दुबेकोलका वडा सदस्य तेजिन्द्र घिमिरेले बताउनुभयो ।
Discussion about this post