सोलुखुम्बु, बैशाख १६ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा गरिएको शिक्षक सरुवाको सिफारिस प्रति हिमाल दर्शन मावि पुर्व विद्यार्थी समाजले आपत्ति जनाएको छ । नेचासल्यान गाउँपालिकाको शिक्षा समितिले गाउँ कार्यपालिकामा शिक्षक सरुवाको सिफारिस गरेको प्रति पुर्व विद्यार्थी समाजले अाज एक प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको हो ।
हिमाल दर्शन माविले आफ्नो स्थापनाको ५० औँ वर्षमा स्वर्ण महोत्सव मनाउन लागिरहेको बेला समितिले विद्यालयका प्रधानाध्यापक अशोक कुमार शर्मा सहित पालिका भरिका शिक्षक सरुवाको सिफारिस अदूरदर्शिता, अपरिपक्व र स्वार्थ समुहको दबाबमा आएको स्पष्ट भएको दावी पूर्व विद्यार्थी समाजले विज्ञप्ति मार्फत गरेको छ ।
समाजले अहिले शिक्षक सरुवा गर्दा समग्र गाउँपालिकाको शैक्षिक गतिविधिमा असर पर्नुका साथै हिमाल दर्शन माविको स्वर्ण महोत्सवलाई प्रत्यक्ष असर पर्ने जनाएको छ । प्रधानाध्यपक शर्माले अहोरात्र खटेर विद्यालयलाई शैक्षिक क्षेत्रको जगतमा एउटा उचाइ दिएकाले सरुवाको सिफारिस खारेज गर्न समाजका अध्यक्ष दिनराज बास्तोला द्वारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरिएको छ । समाजले सिफारिस खारेज गरेर शैक्षिक जगत र जनमानसमा छाएको निराशालाई आशामा परिवर्तन नगरे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
Discussion about this post