भदौ २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्वको खोप अभियान सुरु गरिएको छ । शुक्रबारबाट हिमालयन एनिमल रेस्क्यु ट्रष्टको सहकार्य तथा पशु शाखाको आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्वको खोप अभियान सुरु गरिएको हो ।
सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको जनाइएको छ । वडा नम्बर तिनबाट सुरु गरिएको शिविरको पहिलो दिन ४७ वटा कुकुरहरुको बन्ध्याकरण तथा रेविज विरुद्वको खोप लगाइएको पशु सेवा शाखाका पशु सेवा शाखा अधिकृत लेखनाथ बास्तोलाले जानकारी दिनुभयो ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
शिविरमा खटिएको विज्ञसहितको टोलीले पालिकाको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने उहाँको भनाइ छ । उक्त शिविर भदौ २५ गते सम्म जारी रहने छ ।
Discussion about this post