बैशाख १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टीङस्थित फतान्जेमा निर्माण हुन लागेको ‘मगर बौद्ध शान्ति विहार’ को आज एक भव्य समारोहका बीच शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रम नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा र वडा नम्बर १० का अध्यक्ष होम बहादुर मगरको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो । विहार निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै, स्थानिय बासिन्दाहरू र देश–विदेशमा रहेका मगर समुदायका शुभेच्छुकहरूबाट समेत सहयोग प्राप्त भइरहेको वडा कार्यालयले जनाएको छ । समारोहमा नगर प्रमुख शेर्पाले गौतम बुद्धका दिव्य उपदेशहरू स्मरण गर्दै अहिंसा, करुणा, सत्यता र मानवताको महत्वलाई विशेष रूपमा उल्लेख गर्नुभयो । उहाँले समाजमा जात, धर्म र सम्प्रदायबीच समानता र सहिष्णुताको भावना विकास गर्न यस्ता धार्मिक संरचनाहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै नगरपालिकाबाट यस्ता कार्यहरूमा सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै वडा अध्यक्ष मगरले मगर समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचान संरक्षणमा बौद्ध विहार निर्माण ऐतिहासिक कदम सावित हुने विश्वास व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धधर्म अनुयायी, बुद्धभक्त नागरिक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस कार्यले मगर समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post