साउन १०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ स्थित सामलेकु खोलामा १ लाख ५० हजारको लागतमा पुल निर्माण गरिएको छ । वडा कार्यालयको बजेटबाट पुल निर्माण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । उक्त पुल सञ्चालनमा आएपछि वडा नं. ८ का बुर्खु र रणेम क्षेत्रका नागरिक तथा विद्यार्थीले सुरक्षित आवतजावत गर्न पाउने भएका छन् ।विशेष गरी देउसा माध्यमिक विद्यालयमा आउने–जाने विद्यार्थी तथा स्थानीय बासिन्दाका लागि महत्वपूर्ण बनेको छ ।
यसअघि सामलेकु खोला तरेर आवतजावत गर्नुपर्ने बाध्यता रहेकाले वर्षायाममा विभिन्न मूलबाट आउने पानीको बहाव बढ्दा खोला अत्यन्त जोखिमपूर्ण हुने गरेको थियो । पानीको सतह उच्च हुँदा विद्यार्थीको नियमित पठनपाठन समेत प्रभावित हुने अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।
पुल निर्माण भएसँगै वर्षौंदेखिको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ भने विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाले राहतको अनुभूति गरेका छन् । अध्यक्ष कार्कीले पुल निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सृजनशील टोल विकास संस्थाका अध्यक्ष सोलाहाङ राई तथा सम्पूर्ण निर्माण टोलीप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय पूर्वाधार विकासमा समुदायको सहकार्य प्रशंसनीय रहेको बताउनुभयो ।










Discussion about this post