साउन ११, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले गत आर्थिक वर्ष २०८२÷८३ मा १ करोड ७९ लाख ५ हजार ६ सय २५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ । शाखा कार्यालयका अनुसार एक वर्षको अवधिमा कुल २ हजार १ सय ४४ दशमलव ५ क्विन्टल चामल बिक्री भएको हो ।
नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख अमिताभ कुमार यादवका अनुसार सल्लेरीस्थित शाखा कार्यालयबाट ६४ लाख ३ हजार ३ सय ५० रुपैयाँ बराबरको चामल बिक्री गरिएको छ । त्यसैगरी डिपो कार्यालय लुक्ला र खुम्जुङ बिक्री केन्द्रमार्फत १ हजार २ सय ४५ क्विन्टल चामल बिक्री हुँदा १ करोड १५ लाख ४७ हजार २ सय ७५ रुपैयाँको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
शाखाबाट स्टिम जिरा मसिनो र एफआर स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल ९ हजार २ सय रुपैयाँ तथा २५ केजीको प्रतिवोरा २ हजार ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । त्यसैगरी अरुवा सोना मन्सुली र एफआर अरुवा सोना मन्सुली चामल प्रति क्विन्टल ६ हजार २ सय रुपैयाँ तथा प्रतिवोरा १ हजार ५ सय ५० रुपैयाँमा उपभोक्तालाई उपलब्ध गराइएको शाखाले जनाएको छ । हाल शाखा कार्यालयमा ४ सय ६४ क्विन्टल तथा डिपो कार्यालय लुक्लामा २ सय २० दशमलव ७५ क्विन्टल चामल मौज्दात रहेको छ । उक्त मौज्दातले करिब चार महिनासम्मको माग धान्न सक्ने शाखा कार्यालयको अनुमान छ ।










Discussion about this post