साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुमा पर्ने सल्लेरी–फाप्लु–टाक्सिन्दु–नुनथला–फुलेली–छिर्दि हुँदै माप्यदुधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने सडकको तत्काल स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन् ।
स्थानीयवासीद्वारा जारी विज्ञप्तिअनुसार करिब सात वर्षअघि ट्र्याक खोलिएको उक्त सडक सञ्चालनमा आएपछि सहज यातायात हुने अपेक्षामा स्थानीयले आफ्ना खेतीयोग्य जमिनसमेत उपलब्ध गराएका थिए। तर पछिल्लो समय हाइड्रो कनेक्सन प्रालि., लुजा हाइड्रो लगायतका कम्पनीले निर्माण सामग्री ढुवानीका लागि वर्षायाममा समेत मालवाहक सवारी सञ्चालन गरेपछि छ्युल्यामुदेखि छिर्दिसम्मको सडक हिलाम्मे र जीर्ण बनेको उनीहरूको भनाइ छ ।
सडकको दयनीय अवस्थाका कारण बोलेरोसहित यात्रुवाहक सवारी सञ्चालनमा समस्या भएको, दैनिक उपभोग्य वस्तुको मूल्य बढेको तथा सरकारी कामका लागि सदरमुकाम आउजाउ गर्न कठिनाइ भएको स्थानीयले बताएका छन् । बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउनसमेत समस्या भइरहेको उनीहरूको गुनासो छ।
स्थानीयले वडा कार्यालयमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै हाइड्रो आयोजना सञ्चालन गरिरहेका कम्पनीहरूलाई छ्युल्यामुदेखि छिर्दिसम्मको सडक यथाशीघ्र स्तरोन्नति गर्न आग्रह गरेका छन् । मर्मत नगरी मालवाहक सवारी सञ्चालन गरिए सडक स्तरोन्नति सम्पन्न नभएसम्म आवतजावत रोक्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । स्थानीय श्यामबहादुर राईले सडकको अवस्था सुधारका लागि सम्बन्धित निकाय र आयोजना सञ्चालक कम्पनीले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।










Discussion about this post