साउन १२, सोलुखुम्बु । सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथिको उचाइमा अमेरिकाको व्यावसायिक ड्रोन प्रविधि परीक्षण गरिएको छ । नेपालस्थित अमेरिकी दूतावास, सेभेन समिट ट्रेक्स र कोकाकोला फाउन्डेसनको साझेदारीमा अमेरिकामा निर्मित फ्रिफ्लाई अल्ट्रा एक्स जेन–२ ड्रोनको प्रदर्शन गरिएको हो ।
अमेरिकी दूतावासका अनुसार उक्त ड्रोनले पर्वतीय अभियानका क्रममा शेर्पाहरूमाथि पर्ने भौतिक बोझ कम गर्न, पर्वतारोहीहरूको सुरक्षा अभिवृद्धि गर्न तथा आवश्यक सामग्रीलाई छिटो, सुरक्षित र प्रभावकारी रूपमा ढुवानी गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वर्ष मनाइरहेको अवसरमा नेपालसँगको यो सहकार्य सम्पन्न भएको उल्लेख गर्दै आधुनिक प्रविधिमार्फत हिमाली क्षेत्रमा सुरक्षा र कार्यदक्षता बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
दूतावासले हिमाली क्षेत्रमा ड्रोन प्रविधिको प्रयोग पर्वतारोहण व्यवस्थापन, हिमाल सरसफाइ, खोज तथा उद्धार, विपद् प्रतिकार्य तथा दुर्गम क्षेत्रमा आकस्मिक सामग्री ढुवानीजस्ता कार्यमा प्रभावकारी हुन सक्ने जनाएको छ । यस परीक्षणले नेपालको हिमाली क्षेत्रमा अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग विस्तार गर्ने सम्भावनालाई थप उजागर गरेको दूतावासको भनाइ छ ।











Discussion about this post