असोज २४, सोलुखुम्बु । पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थल लुक्लामा पर्यटकको चहलपहल बढेको छ । सिजन सुरु भएपछि विमानस्थलबाट दैनिक २०० देखि २५० वटासम्म उडान हुने गरेको विमानस्थलले जनाएको छ । अफसिजनमा दैनिक पाँचदेखि १० वटासम्म मात्र उडान हुने गरेकोमा अहिले पर्यटकीय गतिविधि बढेसँगै हवाई मार्गबाट खुम्बु क्षेत्रमा भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
पर्यटकको आगमन बढेसँगै विमानस्थल आसपासका क्षेत्र तथा मुख्य पदमार्गमा आन्तरिक र बाह्य पर्यटकको उपस्थिति बाक्लिन थालेको प्रहरीले जनाएको छ । तारा, समिट र सीता एयरलाइन्सले लुक्लामा नियमित उडान सञ्चालन गरिरहेका छन् । खुम्बु क्षेत्रका प्रहरी निरीक्षक रुद्र गिरीका अनुसार भदौ महिनामा ३४१ पुरुष र १६९ महिला गरी कुल ५१० जना पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेका थिए । यस्तै, असोज २२ गतेसम्म एक हजार २२८ पुरुष र ४६८ महिला गरी कुल एक हजार ६९६ जना पर्यटक खुम्बु क्षेत्रमा पुगेका छन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा समेत उत्साह थपिएको छ ।
अफसिजनका कारण बेँसी झरेका होटल तथा पर्यटन व्यवसायी पर्यटकीय सिजन सुरु भएसँगै पुनः आफ्नो कार्यक्षेत्रमा फर्किन थालेका छन् । यसले स्थानीय होटल, लज तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा चहलपहल बढाउनुका साथै आर्थिक गतिविधिसमेत चलायमान बनाउन थालेको छ । सगरमाथा क्षेत्रको भ्रमणका लागि अनुकूल मौसम सुरु भएसँगै पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ । पर्यटकको सङ्ख्या बढेसँगै खुम्बु क्षेत्रको पर्यटन व्यवसायले गति लिने र स्थानीयस्तरमा रोजगारी तथा आम्दानीका अवसरसमेत विस्तार हुने गरेको छ ।










Discussion about this post