असोेज २३, सोलुखुम्बु । सोलुखुम्बुका आठवटै स्थानीय तहमा सञ्चालन भइरहेको खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियानअन्तर्गत ९ हजार ८९४ पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख डा. सुजन राईका अनुसार शुक्रबार दिउँसो २ बजेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्यामा पशुलाई खोप लगाइएको हो ।
आर्थिक वर्ष २०८३/८४ को प्रथम चरणअन्तर्गत असोज १५ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो । केन्द्रका अनुसार सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकामा ३ हजार २५८ पशुलाई खोप लगाइएको छ । त्यस्तै, माप्य दूधकोशी गाउँपालिकामा १ हजार ५३१, सोताङ गाउँपालिकामा १ हजार २६८, सोलुदूधकुण्ड नगरपालिकामा १ हजार २१५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७४१, महाकुलुङ गाउँपालिकामा ७२७, लिखुपिके गाउँपालिकामा ६२८ र नेचासल्यान गाउँपालिकामा ५२६ पशुलाई खोप लगाइएको केन्द्रले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सल्लेरीको स्वीकृत कार्यक्रम तथा स्थानीय तहका प्राविधिकको सहयोगमा खोप अभियान सञ्चालन भइरहेको प्रमुख डा. राईले जानकारी दिनुभयो । खोरेत रोगबाट पशुलाई सुरक्षित राख्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा अझै खोप लगाउन बाँकी रहेका पशुपालक किसानलाई आफ्ना पशुलाई खोप लगाउन केन्द्रले आग्रह गरेको छ ।










Discussion about this post