असोज २३, सोलुखुम्बु । बडादसैँ तथा शुभ दीपावली २०८३ को अवसरमा शुभकामना आदान–प्रदानसहित सोलुखुम्बुमा ‘खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको मुख्य आयोजना तथा प्रायोजनमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार प्रतियोगिता आगामी असोज २४ र २५ गते दोर्पुस्थित योङ्गस्टार क्लबको हलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा ‘पुरुष डबल्स (ए र बी लेभल)’ तथा ‘पुरुष÷महिला डबल्स (सी लेभल)’ गरी दुई विधा समावेश गरिएको छ । दुवै विधाका विजेता तथा उपविजेताहरूलाई समान पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार प्रथम हुनेले नगद पाँच हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी द्वितीय हुनेले नगद तीन हजार रुपियाँ र तृतीय हुने दुई समूहले नगद एक हजार पाँच सय रुपियाँका दरले ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापनको जिम्मेवारी योङ्ग स्टार क्लब, सोलुखुम्बुले लिएको छ । यसैगरी कर्मचारी मिलन केन्द्र, सोलुखुम्बु प्रतियोगिताको सह–प्रायोजकको रूपमा रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले असोज २४ गते बिहान ११ः०० बजेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ । प्रतिव्यक्ति प्रवेश शुल्क पाँच सय रुपियाँ तोकिएको र खेल असोज २४ गते दिउँसो २ः०० बजेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ ।











Discussion about this post