सोलुखुम्बु, असोज २३ गते । रसुवाको भोटेकोशी बाढीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका राष्ट्रसेवक कर्मचारी तथा शिक्षकले करिब ३३ लाख रुपैयाँ सहयोग गरेका छन्। नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले विपद्का बेला देखाएको यो सामूहिक सद्भावले पीडितप्रतिको मानवीय दायित्वलाई उजागर गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाका अनुसार नगरपालिका अन्तर्गतका स्थायी, करार, राहत तथा सिकाइ उपलब्धि अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीबाट २४ लाख ८९ हजार ३०१ रुपैयाँ तथा प्रशासनिक कर्मचारीबाट ७ लाख ९३ हजार २८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। दुवै शीर्षकको रकम जोड्दा ३२ लाख ८२ हजार ३२९ रुपैयाँ हुन्छ।
यसैगरी, नगरपालिकाका जनप्रतिनिधिले बाढीपीडितको राहतका लागि स्थानीय विपद् कोषमा ७ लाख २३ हजार रुपैयाँ जम्मा गरेका छन्। राष्ट्रसेवकको सहयोग र जनप्रतिनिधिको योगदानले विपद्का बेला संस्थागत रूपमा पनी सहयोग जुटाउन सकिने दर्विलाे उदाहरण प्रस्तुत गरेको छ ।
यस्तै नगरपालिकाले बाढीपछि सम्पर्कविहीन रहेका सोलुखुम्बु स्थायी ठेगाना भएका व्यक्तिका परिवारलाई पनि राहत उपलब्ध गराएको छ । पर्यटन तथा निर्माण क्षेत्रको कामका सिलसिलामा रसुवा पुगेका र बाढीपछि सम्पर्कविहीन भएका ५२ जनाका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले कुल २६ लाख रुपैयाँ राहत उपलब्ध गराइएकाे नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।
नगर कार्यपालिकाको निर्णयअनुसार स्थानीय सरकारका तर्फबाट उक्त राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो। विपद्का कारण प्रभावित परिवारलाई तत्कालीन आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
विपद्को कठिन घडीमा स्वतःस्फूर्त रूपमा राहत कोषमा रकम जम्मा गर्ने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीलाई नगरपालिकाले धन्यवाद दिएको छ ।











Discussion about this post