मंसिर ७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो एक दशकमा भएका पाँच प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटनाले हिमाली उडानको सुरक्षा चुनौतीलाई उजागर गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङक अनुसार २०७३ देखि २०८३ सम्म जिल्लाका विभिन्न स्थानमा हेलिकप्टर दुर्घटना तथा आकस्मिक घटनाहरू भएका छन् । यी घटनामा मानवीय क्षतिसमेत भएको छ भने केही हेलिकप्टरमा ठूलो भौतिक क्षति पुगेको छ ।
२०७३ असोज ९ गते जुभिङस्थित बुक्सामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेन्डमै इन्जिन बन्द भएपछि चालकले आकस्मिक अवतरण गराएका थिए । अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षतिग्रस्त भए पनि हेलिकप्टरमा सवार छ जना सकुशल रहेका थिए । त्यसपछि २०७९ असार २६ गते लामजुराको चिहानडाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भयो । ९एन–एएमभी कलसाइनको उक्त हेलिकप्टरमा चालक क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिक सवार थिए । दुर्घटनामा हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको थियो ।
प्रारम्भिक विवरणमा प्रतिकूल मौसमलाई दुर्घटनाको सम्भावित कारणका रूपमा औँल्याइएको थियो । २०७९ असोज २७ गते लोबुचेमा मनाङ एयरकै अर्को हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । ९एन–एएनजे कलसाइनको उक्त हेलिकप्टरमा चालक प्रकाशकुमार सेढाईं मात्रै सवार थिए । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । गम्भीर घाइते चालकलाई उद्धार गरी काठमाडौं हुँदै थप उपचारका लागि भारत लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो । यसैगरी, २०८२ कात्तिक १२ गते लोबुचे हेलिप्याडमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । लुक्लाबाट पर्यटक लिन गएको हेलिकप्टर हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर पल्टिएको थियो ।
घटनामा चालक सकुशल रहे पनि हेलिकप्टरमा ठूलो क्षति पुगेको थियो । पछिल्लो घटना २०८३ कात्तिक १७ गते फेरुचेमा भएको हो । फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा आकाशमै ठोक्किँदा भारतीय पर्यटकको मृत्यु भएको थियो भने अर्का एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भएका थिए । एउटै हेलिप्याडमा एकभन्दा बढी हेलिकप्टरको आवागमन व्यवस्थापन, सञ्चार समन्वय र अवतरणको प्राथमिकतासम्बन्धी व्यवस्थामाथि उक्त घटनाले प्रश्न उठाएको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको भनाइ छ । हेलिकप्टर उडान तथा अवतरणका क्रममा प्रभावकारी समन्वय र सुरक्षा व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालको हिमाली भूगोलमा हेलिकप्टर उडान आफैँमा चुनौतीपूर्ण मानिन्छ ।
अग्ला हिमाल, साँघुरा उपत्यका, तीव्र गतिमा परिवर्तन हुने मौसम, हावाको चाप, हिमपात, कुहिरो तथा सीमित अवतरण क्षेत्रले उडानलाई जोखिमपूर्ण बनाउने गर्छन् । यद्यपि, दुर्घटनाका घटनालाई मौसमसँग मात्रै जोडेर हेर्नु पर्याप्त नहुने देखिन्छ । उडान व्यवस्थापन, प्राविधिक अवस्था, चालकको निर्णय क्षमता, हेलिप्याडको सुरक्षा, सञ्चार समन्वय र अवतरण प्रक्रियाको प्रभावकारितालगायत विषयमा समेत गम्भीर समीक्षा आवश्यक देखिएको छ ।
सोलुखुम्बुमा हेलिकप्टर सेवा पर्यटन, उद्धार तथा स्वास्थ्य सेवाका लागि महत्वपूर्ण माध्यम बनेको छ । तर, पछिल्लो दशकमा दोहोरिएका दुर्घटना तथा गम्भीर घटनाले हिमाली उडानलाई सुरक्षित बनाउन थप सतर्कता, प्रभावकारी नियमन र सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।










Discussion about this post