असोज २५, सोलुखुम्बु । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत भदौ १० गते आएको बाढीबाट प्रभावित सोलुदुधकुण्ड नगरपालिका–८, ९ र १० अन्तर्गत केरुङ, गोराखानी र टाप्टीङका १४ परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले कुल सात लाख रुपैयाँ सहयोग गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभावित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । सोलुदुधकुण्ड नगरपालिका–१० का वडाध्यक्ष होमबहादुर मगरको समन्वयमा अमेरिका निवासी समाजसेवी मोनी शेर्पा, पेम दोर्जी शेर्पा, ब्रुस वार्ड, याङ्जी शेर्पा र तेन्डी शेर्पालगायतको सहयोगमा उक्त रकम वितरण गरिएको हो । वडाध्यक्ष मगरको रोहवरमा भएको कार्यक्रममा बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएपछि समस्यामा परेका परिवारलाई राहत पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको जनाइएको छ ।
विपद्का कारण आफन्त सम्पर्कविहीन भएपछि कठिन परिस्थितिको सामना गरिरहेका परिवारलाई सहयोग रकमले केही राहत पुग्ने अपेक्षा गरिएको छ । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने सहयोगदाताहरूको मानवीय पहलले प्रभावित परिवारलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा समेत सहारा पुग्ने विश्वास गरिएको छ ।











Discussion about this post