असोज २६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत हालसम्म १० वटा विद्यालयका २३५ जना विद्यार्थी लाभान्वित भएका छन् । शेर्पा बालबालिका सहायता संघको पहल तथा लोरेन्स नेपाल फ्रान्स र राइलेन्ड लोरेन नेपाल जर्मनीको आर्थिक सहयोगमा असोज २० गतेदेखि छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
संघका कार्यक्रम संयोजक सन्तबहादुर बुढाथोकी मगर (र्याबिट) का अनुसार जिल्लाका २२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५८० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य रहेको छ । हालसम्म पिके माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, बेनी आधारभूत विद्यालय, बुद्ध एकेडेमी आधारभूत विद्यालय, जुनबेशी माध्यमिक विद्यालय, रिङमो आधारभूत विद्यालय, दुधकुण्ड आधारभूत विद्यालय, बाल विकास आधारभूत विद्यालय, टाक्सिन्दु माध्यमिक विद्यालय र नमोबुद्ध आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको छ । कार्यक्रमअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
असोज २९ गतेसम्म सञ्चालन हुने कार्यक्रममार्फत आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विपन्न तथा अध्ययनमा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ । आर्थिक समस्याका कारण बालबालिकाको पढाइ प्रभावित नहोस् र उनीहरूलाई नियमित रूपमा विद्यालय जाने वातावरण निर्माण होस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको संयोजक बुढाथोकीले बताउनुभयो । संघले आगामी वर्षका लागि समेत छात्रवृत्ति पाउन योग्य विद्यार्थीको आवेदन सङ्कलन गरिरहेको जनाएको छ । यसले आगामी वर्ष सहयोग प्राप्त गर्न सक्ने विद्यार्थीको पहिचान गर्न सहज हुने संघको विश्वास छ । छात्रवृत्ति वितरण कार्यक्रम जारी रहेकाले बाँकी विद्यालयका विद्यार्थीलाई पनि क्रमशः सहयोग उपलब्ध गराइने जनाइएको छ ।










Discussion about this post