असोज २६, सोलुखुम्बु । नेपालीहरूको महान् चाड बडादशैँअन्तर्गत आज नवरात्रको दोस्रो दिन नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ । देशभरका दसैँघर तथा पूजा कोठामा वैदिक विधिपूर्वक देवी ब्रह्मचारिणीको आह्वान गरी पूजा आराधना गर्न लागिएको हो । नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो ।
सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने धार्मिक परम्परा छ ।
यस अवधिमा दुर्गादेवीको आराधना गरी विधिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्ने गरेका छन् । सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने मान्यताका आधारमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ ।
नवरात्रका अवसरमा देशभरका विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी, राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नवरात्रका नौ दिनसम्म गरिने देवीको पूजा आराधनापछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ ।










Discussion about this post