असोज २५, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा भएको खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दसैँ तथा तिहारको अवसरमा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ डिल्लीबहादुर बस्नेत र पवन थापा प्रथम भएका छन् । आन्तरिक डबल्सतर्फ भने सन्दिप शाक्य र सरिता राईले प्रथम स्थान हासिल गरेका छन् । पुरुष डबल्स खुलातर्फ लक्ष्मण बुढाथोकी र फुर्वा शेर्पाको जोडी दोस्रो भएको छ ।
विकास श्रेष्ठ र डिबी खालिङ तथा फुर्वा ग्याल्जेन शेर्पा र तेज भुजेलको जोडीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै, आन्तरिक डबल्सतर्फ नविना श्रेष्ठ र रुजन खत्रीको जोडी दोस्रो भएको छ । असन राई र नरेन्द्र कुलुङ तथा प्राञ्जल राजभण्डारी र चुडामणि पहाडीको जोडीले तेस्रो स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन समारोह प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरको अध्यक्षता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि राजभण्डारीले खेलकुदको विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । अस्पताल बिरामी भएपछि जाने ठाउँ भए पनि खेलकुदको अभावमा मानिसको स्वास्थ्यमा समस्या आउन सक्ने उल्लेख गर्दै उनले खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
प्रमुख जिल्ला अधिकारी थापामगरले खेलकुदका माध्यमबाट सार्वजनिक सेवालाई नागरिकमाझ चिनाउन पनि प्रतियोगिता महत्वपूर्ण रहेको बताए । प्रतियोगितामा दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः पाँच हजार, तीन हजार र एक हजार पाँच सय रुपैयाँसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको संयोजन सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घले गरेको थियो भने प्राविधिक सहयोग योङस्टार क्लबले गरेको थियो ।











Discussion about this post