असोज २७, सोलुखुम्बु । नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो । विभिन्न धर्मशास्त्रमा चन्द्रघण्टा देवीको महिमा र स्वरूपबारे उल्लेख गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने विश्वासका साथ नवरात्रमा विशेष पूजाआजा गर्ने परम्परा रहेको छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् जसको घण्टामा चन्द्रमा रहेको छ, उनै देवीलाई चन्द्रघण्टा भनिएको उल्लेख छ । चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक मान्यता छ ।
अत्याचारी र दानवी शक्तिको नाश गर्ने देवीका रूपमा चन्द्रघण्टालाई पुज्ने गरिन्छ । नवरात्रको यस दिन मणिपुर चक्रमा ध्यान गर्ने परम्परा पनि रहेको छ । चन्द्रघण्टा देवीको श्रद्धापूर्वक ध्यान तथा पूजा आराधना गर्दा विभिन्न शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवरात्रका नौ दिन नवदुर्गाका नौवटा स्वरूपको विधिपूर्वक पूजा आराधना गर्ने परम्पराअनुसार आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ ।










Discussion about this post