असोज २८, सोलुखुम्बु । नवरात्रको चौथो दिन आज दशैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीलाई सृष्टिकी सर्जक तथा ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित शक्तिका रूपमा पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन गत असोज २५ गते आइतबार दशैँघर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिएको थियो । सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । त्यसैगरी, नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो । नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्छन् । नौ दिनसम्म पूजा गरी राखिएको जमरा तथा प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने धार्मिक प्रचलन रहेको छ । नवरात्रका अवसरमा देशभरका विभिन्न शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ । दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको नवरात्रलाई शक्ति उपासनाको विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।










Discussion about this post