असोज २८, सोलुखुम्बु । उदयपुरको उदयपुरगढी गाउँपालिका, त्रियुगा नगरपालिका–१५ र ताप्ली गाउँपालिकामा ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो’ परियोजनाअन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा मानव अधिकार र वातावरण विकास केन्द्र ९हुरेन्डेक० उदयपुर र जाल्पा एकीकृत विकास समाज ९जिड्स० उदयपुरको साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत असोज २४, २६ र २७ गते क्रमशः उदयपुरगढी गाउँपालिकाको कार्यालय, त्रियुगा नगरपालिका–१५ को रानीबासस्थित वडा कार्यालय र ताप्ली गाउँपालिकाको रूपाटारस्थित कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

परियोजना वर्ष २०२६ को समीक्षा तथा सन् २०२७ मा सञ्चालन गरिने कार्यक्रमका विषयमा छलफल र प्रस्तुतीकरण गर्दै स्थानीय तहसँग समन्वय, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको आयोजकले जनाएको छ । बैठकमा हुरेन्डेक उदयपुरका परियोजना व्यवस्थापक विकल सुवेदी र जिड्स उदयपुरका परियोजना अधिकृत केशवकुमार रायमाझीले परियोजनाका गतिविधि तथा आगामी कार्यक्रमबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सम्बन्धित पालिका तथा वडाका विषयगत शाखा प्रमुख, कार्यपालिका सदस्य, सरोकारवाला निकाय, सहयोगी संस्था तथा साझेदार संस्थाका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उदयपुरगढी र ताप्ली गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर र ढुंगराज विश्वकर्मा तथा त्रियुगा नगरपालिका–१५ का वडाध्यक्ष गणेशप्रसाद तिमल्सिनाले दिगो विकास र समृद्धिका लागि महिला तथा बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । हुरेन्डेक उदयपुरका अध्यक्ष शंकरबहादुर थापाले परियोजनाको अन्तिम वर्ष भएकाले सन् २००९ देखि हालसम्म सञ्चालन गरिएका कार्यक्रम तथा उपलब्धिको समीक्षा गर्दै त्यसको प्रभावकारिता र निरन्तरता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा स्थानीय तहले थप जिम्मेवारी र अपनत्व ग्रहण गर्नुपर्ने उल्लेख गर्दै परियोजनाका कार्यक्रम क्रमशः सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । त्यसैगरी, वल्र्ड भिजन इन्टरनेसनल नेपालका उदयपुर जिल्ला संयोजक आनन्द खड्काले स्थानीय सरकारसँगको समन्वयमा लामो समयदेखि सञ्चालन हुँदै आएको बाल प्रायोजनमार्फत बाल समृद्धि र समुदाय विकासमा केन्द्रित परियोजना अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले परियोजनाको लक्ष्य तथा उद्देश्यअनुसार हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै कार्यक्रमको सफल र सहज अवतरणका लागि सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । लामो समयदेखि स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन हुँदै आएको परियोजनाले बालबालिकाको समग्र विकास र समुदायको समृद्धिमा योगदान पुर्याउँदै आएको आयोजकको भनाइ छ ।











Discussion about this post