कार्तिक १, सोलुखुम्बु । बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ। धार्मिक मान्यताअनुसार महागौरीलाई पवित्रता, शान्ति र करुणाकी प्रतीकका रूपमा लिइन्छ। विभिन्न पुराणमा उल्लेख भएअनुसार महागौरी देवीको वर्ण पहिले कालो थियो।
भगवान् शिवले एक दिन ठट्टा गर्दै देवीलाई ‘ए काली’ भनेपछि देवीलाई त्यो शब्द मन नपरेको र उहाँले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेको धार्मिक कथन छ। त्यसपछि उहाँको नाम महागौरी रहन गएको विश्वास गरिन्छ। शास्त्रीय ग्रन्थहरूमा महागौरीलाई सेतो वृषभ अर्थात् साँढेमाथि सवार, गोरो वर्णकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रका अवसरमा देवी दुर्गाका नौ स्वरूपको पूजा आराधना गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुनुका साथै परिवारमा कल्याण हुने धार्मिक विश्वास छ। महागौरीको आराधनाले भक्तजनका कष्ट निवारण हुने र मनोकामना पूरा हुने जनविश्वाससमेत रहिआएको छ।










Discussion about this post