असोज ३१, सोलुखुम्बु । मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । फूलपातीको अवसरमा शनिबार उदयपुरगढी गाउँपालिका–७ मा उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मल्ल आलेमगर समुदायका व्यक्तिहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । अगुवा बुद्धिजीवी तथा समाजसेवी कृष्णबहादुर मल्ल आलेमगरको पहल र अगुवाइमा आयोजित कार्यक्रममा जिल्लाभरिका बुद्धिजीवी, शिक्षाप्रेमी, सामाजिक अगुवा, पूर्वजनप्रतिनिधि, समाजसेवी तथा कर्मचारीलगायत करिब ६० जनाको सहभागिता रहेको थियो ।
मल्ल आलेमगर समुदायलाई संगठित गर्दै पुर्खाको वंशावली निर्माण, मौलिक पहिचानको संरक्षण तथा सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अगुवा कृष्णबहादुर मल्ल आलेमगरले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा स्थापना गरिएको मल्ल आलेमगर सेवा समाजलाई थप प्रभावकारी बनाउँदै जिल्लाभित्र तथा बाहिर, देश र विदेशमा रहेका समुदायका सबै व्यक्तिलाई समेटेर सशक्त संगठन निर्माण गर्न आवश्यक छ ।
समुदायको पुर्ख्यौली पहिचान र गौरवलाई संस्थागत गर्दै समाजसेवाका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याउन एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सहभागी पूर्वजनप्रतिनिधि श्रीनबहादुर मल्ल आलेमगरले पारिवारिक भेटघाट तथा फूलपाती पूजाको अवसरमा सुरु गरिएको यस्तो भेलालाई आगामी दिनमा निरन्तरता दिइने बताउनुभयो । उहाँले समुदायलाई व्यवस्थित र सशक्त रूपमा अघि बढाउन स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म संगठन विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यसैगरी, अगुवा बुद्धिजीवी तथा समाजसेवी गेशबहादुर मल्ल आलेमगरले समुदायका सदस्यहरू विभिन्न स्थानमा छरिएर बसोबास गर्दा भाषा, संस्कार तथा पुर्खाको पहिचान र गौरव हराउँदै जान थालेको बताउनुभयो ।
उहाँले भावी पुस्तामा मौलिक पहिचान र संस्कार हस्तान्तरण गर्दै तिनको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्ता पारिवारिक तथा सांस्कृतिक भेटघाटले समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै पुर्ख्यौली इतिहास, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।










Discussion about this post