सबिना राई, असोज ३१, सोलुखुम्बु । नेपालीको महान् चाड बडादसैँअन्तर्गत आज सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । दसैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार जिल्लाको सदरमुकाम सल्लेरीस्थित नयाँ बजारको गणेश मन्दिरमा फूलपाती भित्र्याइएको हो । फूलपाती भित्र्याउने शुभसाइतमा आयोजित कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकी, नेपाली सेना दुर्गाबक्स गणका गुल्मपति गोपाल भण्डारी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुरज पाण्डेयलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
नेपाली हिन्दू धर्मावलम्बीले दसैँको सातौँ दिनका रूपमा मनाउने फूलपातीलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ लिने गर्छन् । यस दिन दसैँ घर वा पूजा कोठामा फूलपाती भित्र्याएर दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । नवरात्रको सातौँ दिन आज नौ दुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ । वैदिक परम्पराअनुसार हरेक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जमरा राखेर सुरु गरिएको दुर्गा भवानीको विशेष आराधना नवमीसम्म जारी रहन्छ ।
नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने धार्मिक परम्परा रहेको छ । दसैँको अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ । फूलपाती भित्र्याएसँगै दसैँको उल्लास थप बढ्ने विश्वास गरिन्छ ।










Discussion about this post