असोज ३०, सोलुखुम्बु । काठमाडौँबाट ओखलढुंगातर्फ आउँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा नौ जना घाइते भएका छन् । शुक्रबार दिउँसो १ ः २३ बजे बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बागमती प्रदेश ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउन पछाडि सार्ने क्रममा दुर्घटना भएको हो । बस पछाडि सार्दा पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भई सडकबाट तल खसेको उहाँले जानकारी दिनुभयो । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयवासीको टोलीले घाइतेहरूको उद्धार गरेको थियो ।
उद्धार गरिएका नौ जना घाइतेलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन । घटनास्थलमा अन्य घाइतेको खोजी तथा उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










Discussion about this post