कार्तिक १, सोलुखुम्बु । सोलुखुम्बुमा गत आर्थिक वर्ष २०८२/८३ मा ७२ लाख रुपैयाँभन्दा बढी मूल्यको आयोडिनयुक्त नुन बिक्री भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय सोलुखुम्बुका अनुसार उक्त अवधिमा जिल्लाभर ७२ लाख ८२ हजार ७९ रुपैयाँ बराबरको नुन बिक्री भएको हो। डिपो कार्यालयका प्रमुख श्यामप्रसाद शाहका अनुसार सल्लेरी डिपोबाट ४८ लाख ६ हजार २६९ रुपैयाँ र सोताङ डिपो तथा बिक्री केन्द्रबाट २४ लाख ७५ हजार ८१० रुपैयाँ बराबरको नुन बिक्री भएको छ।परिमाणका आधारमा गत आर्थिक वर्ष जिल्लाभर ८ हजार ९१ क्विन्टल २१ केजी नुन बिक्री भएको कार्यालयको तथ्याङ्क छ। यसमध्ये सल्लेरी क्षेत्रबाट ५ हजार ३४० क्विन्टल ३१ केजी र सोताङ तथा महाकुलुङ क्षेत्रमा २ हजार ७१६ क्विन्टल ९० केजी नुन वितरण गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९ लाख २८ हजार ६५० रुपैयाँ बराबरको ७ हजार ५४७ क्विन्टल ५० केजी नुन बिक्री भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नुन बिक्रीबाट प्राप्त रकम ३ लाख ५३ हजार ४२९ रुपैयाँले बढेको छ। त्यस्तै, नुन बिक्रीको परिमाणमा ५४३ क्विन्टल ७१ केजीले वृद्धि भएको देखिन्छ। स्थानीय तहगत विवरणअनुसार सोलुदूधकुण्ड नगरपालिकामा सबैभन्दा बढी नुनको माग देखिएको छ।
गत आर्थिक वर्ष यस नगरपालिकामा १ हजार ७३६ क्विन्टल ३१ केजी नुन बिक्री भएको थियो। त्यस्तै, थुलुङदूधकोशी गाउँपालिकामा १ हजार ५३८ क्विन्टल र माप्यदूधकोशी गाउँपालिकामा १ हजार १५० क्विन्टल ५० केजी नुन बिक्री भएको कार्यालयले जनाएको छ। यसैगरी नेचासल्यान गाउँपालिकामा ८२६ क्विन्टल ५० केजी, खुम्बु पासाङल्हामु गाउँपालिकामा ३१ क्विन्टल र लिखुपिके गाउँपालिकामा ७ क्विन्टल नुन बिक्री भएको छ। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका लागि थप १६ क्विन्टल नुन उपलब्ध गराइएको छ।
जिल्लावासीलाई सहुलियत दरमा नुन उपलब्ध गराउन सल्लेरी डिपो र सोताङस्थित लालीगुराँस महिला सहकारी संस्थामार्फत वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले बताउनुभयो। सोताङ र महाकुलुङ गाउँपालिकामा महिला सहकारीमार्फत तथा जिल्लाका अन्य स्थानीय तह र सल्लेरी आसपासका सरकारी कार्यालयमा सल्लेरी डिपोमार्फत नुन वितरण हुँदै आएको छ।











Discussion about this post