कार्तिक २, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गत लुक्लामा पहिलोपटक गाडी पुगेको छ । नयाँ सडकको ट्र्याक खुलेसँगै चालक विनोद चौधरीले गाडी लुक्लासम्म पुर्याउन सफल हुनुभएको हो । यसअघि सवारीसाधन सुर्केसम्म मात्रै पुग्ने गरेका थिए । सुर्केबाट लुक्ला पुग्न पैदल यात्रा गर्नुपर्ने अवस्था थियो ।
सडक विस्तारसँगै अब लुक्लासम्मै सवारीसाधन पुग्ने बाटो खुलेको छ । लुक्लासम्म सडक पहुँच विस्तार हुनु यस क्षेत्रको यातायात विकासका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यसबाट स्थानीय बासिन्दाको आवतजावत, दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा पर्यटन व्यवसायमा सहजता थपिने अपेक्षा गरिएको छ । सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको लुक्लामा सडक यातायातको पहुँच विस्तार हुँदा हवाई सेवामा निर्भरता कम गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
यद्यपि, सडकको नियमित सञ्चालन, भौतिक अवस्था र यातायात सेवाको निरन्तरताबारे थप विवरण प्राप्त हुन बाँकी छ । यसअघि सुर्केसम्म सडक पुगेपछि खुम्बु क्षेत्रको यातायात पहुँच विस्तार भएको थियो ।









Discussion about this post