किसान बहादुर मगर, ओखलढुंगा, कात्तिक ३ गते । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, आरुबोटस्थित पिङ लाउने डाँडामा परम्परागत रोटे पिङ सञ्चालनमा ल्याइएको छ । दसैँको अवसरमा स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको पिङको सोमबार परम्परागत रीतिरिवाजअनुसार बोका पूजा गरी उद्घाटन गरिएको हो । लोपोन्मुख अवस्थामा पुगेको काठबाट निर्मित रोटे पिङको संरक्षण र निरन्तरताका लागि स्थानीय युवा जुटेका हुन् ।

करिब १० वर्षसम्म बन्द रहेको पिङलाई २०८० सालमा पुनः सञ्चालनमा ल्याइएको थियो । त्यसयता युवाले यसलाई निरन्तरता दिँदै आएका छन् । आरुबोटका १५ देखि २० जना युवाको सामूहिक प्रयासमा पिङ सञ्चालनमा ल्याइएको स्थानीय बिरु पुलामी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पिङ परिसर, बाटो तथा खेलमैदानको सरसफाइ र आवश्यक व्यवस्थापनका काम पूरा गरी पिङ सञ्चालन गरिएको हो । कात्तिक २ गते अष्टमीदेखि कात्तिक ९ गते पूर्णिमासम्म पिङ खेल्ने व्यवस्था मिलाइएको छ । दसैँमा गाउँ आउने पाहुना तथा स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्नुका साथै पुरानो सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यले पिङ सञ्चालन गरिएको मगरले बताउनुभयो ।

लिङ्गे पिङको तुलनामा रोटे पिङ निर्माण गर्न बढी खर्च, मेहनत र प्राविधिक सीप आवश्यक पर्ने भएकाले पछिल्लो समय गाउँघरमा यसको प्रचलन घट्दै गएको छ । नयाँ पुस्तामा परम्परागत सीपप्रतिको चासो कम हुँदै जाँदा लोप हुने अवस्थामा पुगेको रोटे पिङको संरक्षणका लागि स्थानीय युवाले पहल गर्दै आएका हुन् । पिङ निर्माण तथा व्यवस्थापनका लागि युवाले प्रतिव्यक्ति ५०० रुपैयाँदेखि माथि स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गर्ने गरेका छन् । अघिल्लो वर्ष अग्रजको मार्गदर्शन र अनुभवका आधारमा पिङ तयार गरिएको भए पनि यस वर्ष युवाले आफूले सिकेको सीप प्रयोग गरी निर्माण गरेको मगरले बताउनुभयो । यस वर्ष पिङका अधिकांश सामग्री पुरानै प्रयोग गरिएको छ भने मुख्य खाँबो परिवर्तन गरिएको छ ।

आवश्यक मर्मत तथा व्यवस्थापन पूरा गरेपछि पिङ सञ्चालनमा ल्याइएको हो । दसैँमा टाढाटाढाबाट आउने पाहुनालाई प्राथमिकता दिइने युवाले बताएका छन् । पिङ खेल्ने वातावरणलाई थप रमाइलो बनाउन नयाँ पुस्ताका लागि साउन्ड सिस्टम र अग्रजका लागि मादलको व्यवस्था गरिएको छ । पिङ खेल्नेसँगै नाचगान गर्ने वातावरणसमेत मिलाइएको छ । स्थानीय युवाको यस पहलले मनोरञ्जन प्रदान गर्नुका साथै पुस्तौँदेखि चलिआएको मौलिक संस्कृति, परम्परा र सामाजिक एकता जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । दसैँका अवसरमा आरुबोट पुग्ने स्थानीयवासी, चेलीबेटी तथा अन्य पाहुनालाई रोटे पिङ खेल्दै रमाइलो गर्न युवाले आग्रह गरेका छन् ।










Discussion about this post