कार्तीक ६, साेलुखुम्बु । सोलुखुम्बुमा बडादशैंको अवधिमा खाद्यान्नको कारोबार उल्लेख्य भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सोलुखुम्बु शाखाले दशैं लक्षित बिक्रीमार्फत ३५ लाख ५४ हजार ४ सय ६८ रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको हो । चाडपर्वका बेला उपभोक्तालाई सहज र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको बिक्रीमा चामलको माग सबैभन्दा बढी देखिएको शाखाले जनाएको छ ।
साउन २८ गतेदेखि असोज २८ गतेसम्म सञ्चालन गरिएको बिक्रीबाट मात्रै ३९६ दशमलव २५ क्विन्टल चामल बिक्री भएको छ । शाखा प्रमुख निमीश कुमार यादवका अनुसार उक्त अवधिमा चामल बिक्रीबाट ३१ लाख ९६ हजार ८ सय ७५ रुपैयाँ संकलन भएको छ । बिक्री भएको चामलमध्ये प्रतिक्विन्टल ८ हजार ७ सय रुपैयाँका दरले १५८ दशमलव ७५ क्विन्टल जिरा चामल र १५४ क्विन्टल एफआर जिरा चामल बिक्री भएको छ । त्यस्तै, प्रतिक्विन्टल ५ हजार ७ सय रुपैयाँका दरले ७९ दशमलव २५ क्विन्टल सोना चामल र ४ दशमलव २५ क्विन्टल एफआर सोना चामल बिक्री भएको शाखाले जनाएको छ ।
दशैंको अन्तिमतिर चामलसँगै दाल र चिनीको समेत बिक्री गरिएको थियो । असोज २५, २६ र २८ गते तीन दिनमा प्रतिकेजी ११० रुपैयाँका दरले २ हजार ९८८ केजी चिनी बिक्री हुँदा ३ लाख २८ हजार ६ सय ८० रुपैयाँ संकलन भएको छ । त्यस्तै, प्रतिकेजी १४५ रुपैयाँका दरले १९९ दशमलव ४ केजी दाल बिक्री भएको छ । दालबाट २८ हजार ९ सय १३ रुपैयाँ संकलन भएको शाखाले जनाएको छ ।
चामल, दाल र चिनीको बिक्री जोड्दा दशैंको अवधिमा शाखाको कुल कारोबार ३५ लाख ५४ हजार ४ सय ६८ रुपैयाँ पुगेको हो । चाडपर्वका समयमा बजारमा खाद्यान्नको माग बढ्ने भएकाले कम्पनीले उपभोक्तालाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउन बिक्री सञ्चालन गर्दै आएको शाखा प्रमुख यादवले बताउनुभयो ।










Discussion about this post