कात्तिक ५, सोलुखुम्बु । खोटाङमा विद्युत् सर्ट भएर आगलागी हुँदा १६ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घुर्चुका कृष्णकुमार राईको टिनको छानो भएको ढुङ्गामाटोले बनेको घर, मतान र बाख्राको खोरमा मंगलबार राति आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार आगलागीबाट घर, मतान र बाख्राको खोरसँगै नगद २० हजार रुपैयाँ, अन्दाजी दुई लाख रुपैयाँ बराबरका भाँडावर्तन, एक लाख ५० हजार रुपैयाँका लत्ताकपडा, एक लाख १५ हजार रुपैयाँको अन्नपात, एक लाख रुपैयाँ बराबरका विद्युतीय सामग्री तथा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।आगलागीमा बाख्राको खोरमा रहेका दुई वटा बाख्रा र एउटा बोका जलेर मरेका छन्।
इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। राई हाल वैदेशिक रोजगारीका सिलसिलामा बेलायतमा छन्। घरमा उनकी श्रीमती तारा र छोरा मात्र बस्दै आएका थिए। तारा मतानमा सुतिरहेको अवस्थामा घरबाट आगलागी सुरु भएको बताइएको छ।
रातको समयमा आगलागी भएका कारण घरभित्रका कुनै पनि सामान जोगाउन नसकिएको स्थानीयवासीले बताएका छन्। आगलागीबाट घर जलेपछि विस्थापित भएको परिवारका लागि अस्थायी टहरा निर्माणको काम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेश राउतले जानकारी दिनुभयो।










Discussion about this post