कार्तिक ५, सोलुखुम्बु। बडादशैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्दछन्। दसैँको अवसरमा आफन्त तथा परिवारजनबीच भेटघाट गर्ने, आपसी सद्भाव साटासाट गर्ने र खुसी बाँड्ने क्रम पनि चलिरहेको छ।
विजयादशमीका दिन भेटघाट गर्न नसकेका तथा मान्यजन टाढा रहेका व्यक्तिहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने परम्परा रहेको छ। नेपालका केही स्थानमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश क्षेत्रमा भने कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने परम्परा कायम रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिन्छ। यसले दसैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वका रूपमा निरन्तरता दिएको छ।










Discussion about this post