कार्तिक ४, सोलुखुम्बु । बडादशैँको मुख्य दिन विजयादशमी आज देशभर मान्यजनबाट देवी दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नवरात्रका नौ दिनसम्म पूजा–आराधना गरिएकी नवदुर्गाको प्रसाद मान्यजनको हातबाट लगाएर दशैँ मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउनका लागि उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। यद्यपि, सर्वसाधारणले देवीको प्रसादस्वरूप टीका ग्रहण गर्न विशेष साइत पर्खिरहनु आवश्यक नरहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभएको छ।
चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने उहाँले बताउनुभएको छ। आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। विजयादशमीका दिन दशैँघर तथा शक्तिपीठमा नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको विधिपूर्वक विसर्जन गरी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ। घरमा बुबाआमा तथा परिवारका ज्येष्ठ सदस्यबाट टीका लगाएपछि मावली, ससुरालीलगायत आफन्तकहाँ गएर टीका थाप्ने चलन छ।
सामान्यतया नवरात्र नौ दिनसम्म मनाइने भए पनि यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले घटस्थापनाको ११औँ दिनमा विजयादशमी परेको हो।विजयादशमीका दिन मात्रै टीका लगाउने चलन केही स्थानमा रहे पनि नेपालका धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दशैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सामाजिक एकता अभिवृद्धि गर्ने पर्वका रूपमा समेत लिने गरिन्छ।










Discussion about this post