सोलुखुम्बु, कार्तिक ७ । नेपालीहरुको महान पर्व बडादशैं मनाउन सोलुखुम्बु भित्रिएका नागरिक तथा पर्यटकहरु पर्व सकिएसँगै जिल्ला बाहिरिने क्रम बढेको छ । दशैंको टीकाको दिन कार्तिक ४ गतेदेखि कार्तिक ७ गतेसम्म तीन दिनको अवधिमा सोलुखुम्बुबाट ३ हजारभन्दा बढी नागरिक तथा पर्यटक बाहिरिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार तीन दिनमा हवाई तथा स्थलमार्ग हुँदै कुल ३ हजार ५ जना जिल्ला बाहिरिएका हुन् । तीमध्ये लुक्ला र फाप्लु विमानस्थलबाट १ हजार २ सय ७० जना तथा स्थलमार्गबाट १ हजार ७ सय ३५ जना बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दशैं मनाउन जिल्ला भित्रिएका जिल्लाबासीसँगै पर्यटकहरु समेत पर्व तथा भ्रमण सकिएपछि जिल्ला बाहिरिने क्रम जारी छ । हवाईजहाज र गाडीमार्फत जिल्ला बाहिरिनेहरुको मात्रै यो विवरण रहेको प्रहरीले जनाएको छ ।
दशैंअघि रोजगारी, अध्ययन तथा विभिन्न कामका लागि जिल्ला बाहिर रहेका नागरिकहरु घर फर्किएसँगै जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा चहलपहल बढेको थियो । टीका सकिएपछि भने पुनः काम तथा अध्ययनका लागि बाहिरिने क्रम तीव्र बनेको हो । विशेषगरी लुक्ला र फाप्लु विमानस्थलबाट काठमाडौंलगायतका गन्तव्यतर्फ जाने यात्रुको चाप बढेको छ । यसरी हवारी मार्ग मार्फत बाहिरीनेहरुमा बढी पर्यटकहरु रहेका छन् ।
यस्तै, स्थलमार्ग हुँदै ओखलढुंगा, काठमाडौं तथा अन्य जिल्लातर्फ जानेहरुको संख्या पनि उल्लेख्य रहेको प्रहरीको तथ्यांकले देखाएको छ । दशैंको टीकापछि तीन दिनमै ३ हजारभन्दा बढी नागरिक जिल्ला बाहिरिनुले सोलुखुम्बुमा दशैंको समयमा हुने आवतजावतको ठूलो हिस्सा पर्व सकिएपछि पुनः बाहिरिने गरेको देखाएको छ ।










Discussion about this post