असोज ७, सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो क्षेत्रमा ढुंगामुनि ठूलो परिमाणमा बरफ लुकेको वैज्ञानिक अध्ययनबाट पत्ता लागेको छ । जमिनमुनिको संरचना अध्ययन गर्ने राडार प्रविधिबाट गरिएको अनुसन्धानमा दुई ठूला बरफका पिण्ड फेला परेका हुन् । ती दुई पिण्डमा करिब पाँच लाख २३ हजार घनमिटर पानी बराबरको बरफ रहेको अनुमान गरिएको छ । अध्ययनअनुसार उक्त बरफ पग्लिएमा करिब ५२ करोड ३० लाख लिटर पानी बराबर हुन सक्छ ।
यो जमिनमुनि पानीको ताल भेटिएको भने होइन । बरफको अनुमानित आयतनलाई पानी बराबरको परिमाणमा रूपान्तरण गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त रक ग्लेसियर सगरमाथाबाट करिब २३ किलोमिटर दक्षिण–पश्चिममा रहेको छ । करिब शून्य दशमलव ६८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको संरचनाको तल्लो भाग चार हजार ७१६ मिटर उचाइमा रहेको गोक्योको दोस्रो तालसम्म पुगेको छ । अनुसन्धानकर्ताले सन् २०२२ को मे महिनामा स्थलगत सर्वेक्षण गरी जमिनमुनिको तथ्याङ्क संकलन गरेका थिए । राडारबाट पठाइएको विद्युत्–चुम्बकीय तरङ्ग फर्किँदा प्राप्त संकेत र तरङ्गको गति विश्लेषण गरेर बरफको अवस्था पहिचान गरिएको हो ।
अनुसन्धानमा तल्लो भागमा करिब १५० मिटर लामो र अधिकतम २८ मिटर बाक्लो बरफको पिण्ड रहेको अनुमान गरिएको छ । त्यस्तै, माथिल्लो भागमा करिब २५० मिटर लामो र अधिकतम साढे १७ मिटर बाक्लो अर्को बरफको पिण्ड पहिचान गरिएको छ । अध्ययनले गोक्योको रक ग्लेसियर बिस्तारै तलतर्फ सर्ने गरेकोसमेत देखाएको छ ।
सेन्टिनेल–१ उपग्रहबाट सन् २०२१ देखि २०२४ सम्म संकलित तथ्याङ्क विश्लेषण गर्दा केही स्थानमा यसको गति वर्षमा एक मिटरसम्म रहेको पाइएको छ । तर पूरै संरचना हरेक वर्ष एक मिटर सर्छ भन्ने भने होइन । अनुसन्धानकर्ताका अनुसार हिमाली क्षेत्रमा करिब २५ हजार रक ग्लेसियर रहे पनि तिनको भित्री भागमा कति बरफ छ भन्नेबारे पर्याप्त जानकारी छैन । त्यसैले गोक्योमा गरिएको अध्ययन हिमाली क्षेत्रमा लुकेको बरफको मात्रा बुझ्न महत्वपूर्ण मानिएको छ ।
यस्ता संरचनाभित्रको बरफ खुला हिमनदीको तुलनामा ढुंगाको तहले सुरक्षित हुने भएकाले भविष्यमा पानीको स्रोतका रूपमा यसको महत्व बढ्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । तर बरफ कति वर्ष टिक्छ र प्रतिवर्ष कति पानी उपलब्ध हुन्छ भन्ने यकिन गर्न थप अध्ययन आवश्यक छ । ‘फस्र्ट इम्पिरिकल असेसमेन्ट अफ आइस कन्टेन्ट फ्रम अ हिमालयन रक ग्लेसियर’ शीर्षकको अनुसन्धान सन् २०२६ सेप्टेम्बर २ मा ‘जियोफिजिकल रिसर्च लेटर्स’मा प्रकाशित भएको हो ।










Discussion about this post