किशान बहादुर मगर, कार्तिक १२, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, आरुबोटमा विजयादशमीको अवसरमा सञ्चालन गरिएको परम्परागत रोटे पिङको आर्थिक विवरण सार्वजनिक गरिएको छ । रोटे पिङ सञ्चालन तथा व्यवस्थापनका लागि विभिन्न व्यक्ति तथा सहयोगदाताबाट कुल ६८ हजार ४४९ रुपैयाँ सहयोग संकलन भएको आयोजकले जनाएको छ ।
संकलित रकममध्ये पिङ निर्माण तथा व्यवस्थापनमा ४३ हजार ४४९ रुपैयाँ खर्च भएको छ । खर्च कटाएर बाँकी रहेको २५ हजार रुपैयाँ २०८४ साल भदौ महिनासम्मका लागि बमबहादुर पुरामी मगरले चलाउनुभएको आर्थिक विवरणमा उल्लेख छ । उक्त रकम चलाएबापत २०८४ साल भदौ महिनासम्ममा ३० हजार रुपैयाँ फिर्ता गर्ने सहमति भएको जनाइएको छ । आरुबोटमा लोप हुँदै गएको परम्परागत रोटे पिङलाई पुनः सञ्चालन गरी निरन्तरता दिने उद्देश्यले स्थानीय युवाहरू सक्रिय हुँदै आएका छन् ।
रोटे पिङ सञ्चालन अभियानमा स्थानीयवासी तथा देश–विदेशमा रहेका सहयोगदाताको योगदान रहेको छ । परम्परागत संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै समुदायमा आपसी सद्भाव र एकता कायम गर्न रोटे पिङले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ । पिङ सञ्चालन तथा व्यवस्थापनका लागि आर्थिक, भौतिकलगायत विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति आयोजकले आभार व्यक्त गरेको छ ।












Discussion about this post