कार्तिक १३, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले पार्टीको केन्द्रीय समिति कुनै समूह विशेषको प्रभावमा रहेर सञ्चालन हुने थलो नभई अनुभव, परिपक्वता, विचार र दूरदृष्टिको साझा मञ्च बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबाट शपथ ग्रहण गरी केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले पार्टीको ऐतिहासिक गरिमा, संस्थागत मर्यादा र राजनीतिक परिपक्वतालाई जोगाउनुपर्नेमा जोड दिएका हुन् । उनले नेतृत्व परिवर्तनसँगै पार्टीमा नयाँ ऊर्जा र उत्साह आउनुपर्ने उल्लेख गर्दै त्यसक्रममा पार्टीको ऐतिहासिक पहिचान र संस्थागत मूल्य कमजोर हुन नहुने बताएका छन् ।
‘नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो। यसको केन्द्रीय समिति कुनै समूह विशेषको प्रभाव वा विद्यार्थी राजनीतिशैलीको अभ्यास गर्ने थलो नभई अनुभव, परिपक्वता, विचार र दूरदृष्टिको साझा मञ्च बन्नुपर्छ,’ कार्कीले आफ्नो स्टाटसमा लेखेका छन्।
केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेपछि कार्कीले यस यात्रामा साथ, विश्वास र अमूल्य मत प्रदान गर्ने सोलुखुम्बुलगायत देशभरिका सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई प्रदान गरिएको विश्वासलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
कार्कीको यो अभिव्यक्तिलाई कांग्रेसको नयाँ नेतृत्वसँगै पार्टी सञ्चालनमा अनुभव, परिपक्वता र संस्थागत मर्यादाको महत्त्वमाथि उठाइएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ। नयाँ नेतृत्वको उत्साहसँगै पार्टीको ऐतिहासिक विरासत र संस्थागत अभ्यासलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको धारणा देखिन्छ।











Discussion about this post