कार्तिक १३, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरीखोलामा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएका खानेपानी योजनाको उद्घाटन गरिएको छ । गाउँपालिकाका प्रत्येक नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउने तथा आगलागीजन्य विपद् व्यवस्थापनका लागि अग्नि नियन्त्रण प्रणाली जडान गर्ने योजनाअन्तर्गत निर्माण सम्पन्न खानेपानी योजनाको बिहीबार उद्घाटन गरिएको हो ।
खरीखोला खानेपानी योजनाअन्तर्गत स्किम ४ र ६ तथा स्किम ७ र ८ गरी दुईवटा योजना गाउँपालिकाले साझेदार संस्थासँगको सहकार्यमा सम्पन्न गरेको हो। स्किम ४ र ६ अन्तर्गतको योजनामा गाउँपालिकाको ७८ लाख ९८ हजार ९४९ रुपैयाँ ९३ पैसा, एक्सन फर नेपाल र हिमालयन आई प्रोजेक्टको ७९ लाख १५ हजार ५४४ रुपैयाँ ८५ पैसा तथा स्थानीय उपभोक्ता समितिको श्रमदानबापत चार लाख ६९ हजार ३९५ रुपैयाँ ४७ पैसासहित कुल एक करोड ६२ लाख ८३ हजार ८९० रुपैयाँ २५ पैसा खर्च भएको छ ।
त्यसैगरी, स्किम ७ र ८ अन्तर्गतको योजनामा गाउँपालिकाको ३६ लाख छ हजार ८८३ रुपैयाँ, एक्सन फर नेपालको ४६ लाख ६२ हजार ३३३ रुपैयाँ तथा स्थानीय उपभोक्ता समितिको श्रमदानबापत चार लाख ७५ हजार ४८३ रुपैयाँ गरी कुल ८७ लाख ४४ हजार ६९९ रुपैयाँ खर्च भएको जनाइएको छ ।
यसअघि खरीखोला खानेपानी योजनाका स्किम १, २, ३ र ५ का लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५० लाख, २०८०/८१ मा ३० लाख, २०८१/८२ मा ५३ लाख र २०८२/८३ मा १५ लाख रुपैयाँ खर्च गरेको थियो। गाउँपालिकाका अनुसार खरीखोला खानेपानी योजनामा हालसम्म गाउँपालिकाको दुई करोड ६३ लाख ६५ हजार ८३८ रुपैयाँ तथा साझेदार संस्थाको एक करोड २५ लाख ७७ हजार ८७७ रुपैयाँ गरी कुल तीन करोड ८९ लाख ४३ हजार ७१५ रुपैयाँ खर्च भएको छ ।
खानेपानी योजनाबाट स्थानीय नागरिकको स्वच्छ खानेपानीमा पहुँच विस्तार हुनुका साथै योजनामा समेटिएको अग्नि नियन्त्रण प्रणालीले आगलागीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बिहिबार सम्पन्न उद्घाटन समारोह गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा साझेदार संस्था एक्सन फर नेपालका कार्यकारी निर्देशक तथा गाउँपालिकाका सल्लाहकार लाक्पा थेरिङ शेर्पा, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई, हिमालयन आई प्रोजेक्टका अध्यक्ष सर्जे क्युराट, परियोजना संयोजक ङिमा दोर्जी शेर्पा तथा रोटरी क्लब लुजान, स्विट्जरल्यान्डका प्रतिनिधिलगायतको उपस्थिति थियो ।











Discussion about this post